नेपाली कांग्रेसको पालिका तहको निर्वाचन तयारी पुरा

बिर्तामोड । एकसय ३१ वटै वडामा निर्वाचन सम्पन्न भएसँगै झापाका पालिकातहको निर्वाचनका लागि नेपाली कांग्रेस र जिल्ला निर्वाचन समिति झापाले सम्पूर्ण तयारी पूरा गरेको छ ।

असोज ९ गते हुने पालिका तहको निर्वाचनका लागि झापाका १५ वटै पालिकामा तोकिएका मतदान अधिकृतलाई पार्टीको विधान, निर्वाचन निर्देशिका र अनुसूचीहरुबारे बिहीबार प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका सभापति उद्धव थापाले निर्विवाद रुपमा वडा अधिवेशन सम्पन्न गर्ने वडा तहका सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई धन्यवाद दिँदै पालिका तहको निर्वाचन पनि स्वच्छ, पारदर्शी, निस्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गरे ।

क्रियाशील सदस्यता वितरण र वडा तहको निर्वाचन शान्तिपूर्ण रुपमा भएपछि सबै जिल्ला एवं केन्द्रमा समेत झापा उदाहरणीय बनेको चर्चा गर्दै सभापति थापाले स्वस्थ प्रतिष्पर्धाका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान समेत गरे । लोकतान्त्रिक पद्धतिअनुरुप भएको निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको भन्दै उनले निर्वाचनपछि पार्टी एकढिक्का हुने विश्वास ब्यक्त गरे । प्रशिक्षणका क्रममा पालिका तहको निर्वाचनमा समावेशी सहभागितासम्बन्धी ब्यवस्थासहितको अनुसूची, निर्वाचन निर्देशिका र विधानका विषयमा उठेका सवालहरुको जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले जवाफ दिएका थिए ।
निर्वाचन सम्पन्न गराउन आफू माध्यम मात्रै भएको बताउँदै जिल्ला निर्वाचन अधिकृत चिलवालले शान्तिपूर्ण, निस्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न पालिका तहमा खटिएका अधिकृतहरुलाई आग्रह गरे ।

नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेलले सहजीकरण गरेको कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

निर्वाचन कार्यतालिका अनुसार मतदान अधिकृत र सहायक अधिकृतहरुले असोज ८ गते निर्वाचनस्थल तय एवं ब्यवस्थापन गर्नेछन् भने ९ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० उम्मेद्वारमाथि दावीविरोध, ३ बजे उम्मेद्वारको नामावली प्रकाशन , ३ बजेदेखि ६ बजेसम्म उम्मेद्वारी फिर्ता र ६ः३० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी असोज १० गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएलगत्तै मतगणनाको समयतालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: