नेपाली कांग्रेसमा अर्जुनधारामा सभापतिबाहेक सर्वसम्मत

बिर्तामाेड । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत झापाका पालिकाहरुको निर्वाचनका लागि १५ वटै पालिकाहरुमा मतदान केन्द्र तय भएको छ । निर्वाचनको पूर्वतयारीका क्रममा सबै पालिकामा पुगेका मतदान अधिकृत र स्थानीय पार्टीको समन्वयमा मतदान स्थल तय भएको हो भने सहमतिको सम्भावना भएका पालिकाहरुमा सहमतिको प्रयास पनि जारी राखिएको जनाइएकाे छ ।
आकांक्षीहरुबीचमा सहमति गराएर सर्वसम्मत नेतृत्व चयनका लागि विभिन्न पालिकाहरुमा पहल जारी राखिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा सभापतिबाहेक सबै पदमा सर्वसम्मत गरिएको छ ।
नगर समितिमा प्रत्येक वडाबाट १ महिलासहित ३ गरी चयन हुने ३३ जना सदस्य र समावेशी कोटा अन्तर्गत चयन हुने २२ जना सदस्यका विषयमा  सहमति नजिक पुगेकाे पार्टीका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिए । आकांक्षीहरुका बीचमा भएको छलफलपछि उपसभापतिमा प्रशान्त भण्डारी र चतुर्भुज काफ्ले, सचिवमा इन्दिबर खड्का र मेदनी गुरागाई, सहसचिवमा इशान पौडेल र निरज दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
उम्मेद्वारी घोषणा गरेर पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग पुर्याउने गंगा मैनाली, जीवन भण्डारी, भाष्कर भटराई, खेम अधिकारी र इन्द्र पौडेललाई पनि पार्टीका विभिन्न तहमा जिम्मेवारी दिन पहल गरिने हुमागाईले बताए । यसैबीच अर्जुनधारा नगर समिति सभापतिका लागि उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचार–प्रसार गरिरहेका हेमराज खरेल र भिष्म मिश्रबीच पनि सहमति गराउने पहल भइरहेको बताईएको छ ।
सर्वसम्मत पदाधिकारी चयनपछि आयोजित भेलामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेतृत्वको विवेकले भ्याएसम्म सबैलाई न्याय दिएको बताए । कांग्रेसलाई कमजोर बनाउन विपक्षीले अनेक झमेला र घुसपैठ गराउन सक्नेतर्फ सचेत रहन समेत नेता बुढाथोकीले सम्पूर्ण कार्यकर्तामा आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ता एवं चुनावी प्रतिष्पर्धामा उत्रिएका नेतृत्वबीचको सहमति, सहकार्य एकता र मेलमिलापले  नजिकिएको स्थानीय, प्रदेश र संघीय तीनै तहका उम्मेद्वारले विजय प्राप्त गर्ने  धारणा राखेका थिए ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
यसैबीच असोज ९ बाट शुरु हुने निर्वाचनमा लागि मेचीनगरको धुलाबारी माविमा निर्वाचन केन्द्र तय गरिएको छ । यसैगरी बुद्धशान्तिमा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय बुधबारे, अर्जुनधाराको  नेपाली कांग्रेस नगर समितिको कार्यालय अर्जुनधारा–७, विर्तामोडको महेन्द्र रत्न मावि, भद्रपुरमा एन.सि.डि.सी भवन भद्रपुर, कचनकबलमा सुकुनाढिकी सामुदायिक भवन पथरिया,  हल्दिबारीमा जयदुर्गा मन्दिर हल्दिबारी–४, बाह्रदशीमा जेष्ठ नागरिक भवन, कनकाईमा उद्योग बाणिज्य संघको सभाहल, शिवसतासीमा राष्ट्रिय रमणीय मा.वि. शिवसतासी, कमल गाउँपालिकामा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय, दमकमा दिपिनी मा.वि. दमक–५, गौरादहमा गौरादह बहुमुखी क्याम्पस र गौरीगञ्जमा गौरीगञ्ज क्याम्पसलाई मतदान स्थल तय गरिएको मतदान अधिकृतहरुले जनाएका छन् ।
क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने यसपटकको निर्वाचनमा झापाबाट तीनहजार तीनसय ६८ जनाले मतदान गर्नेछन् । गाउँ एवं नगरपालिकाको निर्वाचनका लागि सभापतिको उम्मेद्वार हुन क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनुपर्नेछ भने पदाधिकारी तथा सदस्यमा क्रियाशील सदस्यले पनि उम्मेद्वारी दिन पाउनेछन् । तर क्रियाशील सदस्यहरुले पदाधिकारी र सदस्यमा उम्मेद्वारी दिएपनि मतदान गर्ने अधिकार भने प्राप्त छैन ।
यसपटकको निर्वाचनमा सबैभन्दा बढी मेचीनगरमा–४९६ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् भने हल्दिबारीमा सबैभन्दा कम ११० जनाले मतदान गर्नेछन् । यसैगरी बुद्धशान्तिमा १३७, अर्जुनधारामा २४४, विर्तामोडमा २८०, भद्रपुरमा २३९, कचनकबलमा १६५, बाह्रदशीमा १६०, कनकाई १८६, शिवसतासीमा ३६८, कमलमा १३७, दमकमा ३२६, गौरादहमा २४६, गौरीगञ्ज १२६ जनाले मतदान गर्नेछन् ।  कार्यसमितिमा सबैभन्दा बढी मेचीनगरमा– सातजना पदाधिकारीसहित ८२ जना र सबैभन्दा कम हल्दिबारीमा ३२ जना निर्वाचित हुनेछन् । यसपटकको निर्वाचनमा सभापति–१, उपसभापति–२, सचिव–२, सहसचिव–२ र क्रियाशिल सदस्य र वार्ड संख्याको आधारमा सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष निर्वाचित सदस्यमध्येबाट मनोनयन गरिने कांग्रेसको विधान छ ।
प्रतिक्रिया दिनुहोस्: