सभापतिमा पुन: खरेल

बिर्तामाेड । नेपाली कांग्रेसको अर्जुनधारा नगर सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । सभापतिका अर्का दावेदार भिष्म मिश्रलाई २७ मतअन्तरले पराजित गर्दै खरेल विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । अन्य पदाधिकारी र सदस्यको छिनोफानो सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । अर्जुनधारा ९ का मिश्र र अर्जुनधारा ५ का  खरेलको सभापति पदमा उम्मेद्वारी परेको थियो ।

अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल (इशान)ले जानकारी दिए ।

यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवद्वयमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध भइसकेका थिए ।

यसअघि भिष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति थिए ।

कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए । अन्य स्थानीय तहकाे परिणाम आउने क्रममा रहेकाे निर्वाचान समितिले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: