झापामा पेट्राेलकाे हाहाकार

बिर्तामोड । भारतीय पक्षले नेपाल निर्यात गर्ने पेट्रोलमा कटौती गर्न थालेपछि झापासहितका पुर्वका चार जिल्लमा पेट्रोलको अभाव शुरु भएको छ ।

भारतको सिलिगुडीबाट पुर्वका लागि झापाको चारआली डिपोमा पेट्रोल आउने गरेको थियो । भारतले माग बमोजिम पेट्रोल नदिंदा अहिले झापाका अधिकांस पम्पले पेट्रोल वितरण गर्न नसकेको जनाएका छन् ।

इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न पाएका छैनन् ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि दैनिक साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ । तर, भारतको सिलिगुडी डिपोले शनिवार डेढसय किलोलिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताए ।

उनले भने, ‘भारतबाटै चाहिएजति पेट्रोल नेपाल आएको छैन । हाम्रो तर्फबाट भारतमा कुरा गर्ने काम भइरहेको छ ।’ दशैंको शुरुवातसँगै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । बिश्वकर्माका अनुसार डिजेल भने माग बमोजिमको आपुर्ती भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: