पाँचथर दुर्घटनामा मृत्यु हुनेकाे संख्या चार पुग्याे

 

बिर्तामाेड । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङको लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–४ शिवदोभानबाट झापाका लागि हिँडेकाे को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो । सजिलो बाटोमा अर्को सवारीलाई उछिन्ने क्रममा बस सडकबाट करीब २० मिटर तल सडकमै झरेको थियो । बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: