अर्जुनधारामा मंसीर १० गतेदेखि महापुराण

बिर्तामाेड । झापाको अर्जुनधारा जलेश्वरधामले ३९औं मंसिर १० गतेबाट श्रीमद् भागवत महापुराण लगाउने भएको छ । गतवर्ष काेराेनाका कारण बन्दाबन्दी रहँदा कोठे पुराण सञ्चालन भएकाे थियाे ।

यस वर्ष सुरक्षा मापदण्ड अपनाएर श्रीमद् भागवत महापुराण, गंगा आरती, कोरोनाकालबाट दिवंगत भएकाहरुको मोक्षका लागि महायज्ञ गरिने धामले जनाएको छ । धामले यसअघि सञ्चालन गरेको ‘भूमिदान, महादान’ र धामको अक्षयकोषसँगै गुरुयोजना सम्पन्न गर्न र पुराणलाई आकर्षक बनाउन सम्पूर्ण दानवीरहरुसँग अनुरोध गरेकाे छ ।

धामलाई नियमितरुपमा सञ्चालन गर्न अनुष्ठान नै मुख्य आयस्रोतको भएको र यसवर्ष हुने श्रीमद् भागवत पुराणमा पितृ उद्धारको कार्यक्रम रहेको जानकारी दिँदै सम्पूर्ण धर्मावलम्बीहरुमा उपस्थितिका लागि अनुरोध गरिएको छ । अनुष्ठानमा मनमोहक ढंगबाट गंगा आरती गरिने, पितृ मोक्षका लागि महायज्ञ गरिने भएको छ ।

महापुराणकाे मुख्य वाचकमा सोमनाथ गौतम र उपवाचक चिरञ्जीवी ढुंगाना रहने धामका मुख्य पुजारी अग्नी सिग्देलले जानकारी दिए । अर्जुनधारा धाम समितिलगायत यसअघिका विभिन्न उपसमितिसहितको भेलाले महापुराणलाई पूर्णता दिन र मापदण्ड अपनाएर सम्पन्न गर्न विभिन्न समिति निर्माण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: