मेचीनगर । झापाको मेचीनगरबाट घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोहका १० जना सदस्य पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका -९ स्थित शैलेन्द्र पोद्दारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आइतबार छापा मारेर सो गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।

सो घरमा अवैध अनलाइन व्यवसाय सञ्चालन भइरहेको विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले छापा मारेर १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाका मुख्य नाइकेसहित अन्य केही व्यक्ति अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ । घरमा छापा मारेर संयुक्त टोलीले ४० वटा मोबाइल, एउटा प्रिन्टर, ७ वटा ल्यापटप, एउटा सिसी क्यामेरा बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

मेचीनगर ८ धुलाबारीस्थित मेची क्राउन होटेलमा कार्यरत कर्मचारी भन्दै  उनीहरूले घर भाडामा लिएर त्यहाँ बस्दै आएको स्थानीयको भनाई छ । उक्त होटेलमा कार्यरत छु भन्दै मेचीनगरका धेरै ठाउँमा भारतीय युवायुवती यसरी नै घर भाडा लिएर अवैध ठगी धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् ।