बिर्तामोड । लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका झापा गाउँपालिका-४ खयरबारी बस्ने सरिफुल आलमको भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सो क्रममा अताउल रहमानका छोरा २५ वर्षीय आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोलीबाट आलमको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा २ राउन्ड गोली लागेको थियो । उनको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । हाल उनको अवस्था खतरामुक्त रहेको छ ।
पक्राउ परेका कारोबारीबाट ११६ ग्राम ६० मिलिग्राम खैरो हेरोइन र एकएकथान खुकुरी र दाउसमेत बरामद भएको छ ।