झापा । झापाको मेचीनगर नगरपालिका–१५ कालिका स्थित भित्री सडक खण्डमा सोमबार बिहान सिटी सफारी र स्कार्पियो एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।

बिहान करिब १०ः४५ बजे काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१-००२ झ ७३६० नम्बरको स्कार्पियो आपसमा ठोक्किएका थिए।

दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर–१५ निवासी करिब ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइए पनि बिहान ११ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि स्कार्पियो चालक गाडीसहित फरार भएका थिए। प्रहरीले बिहान ११ः५० बजे मेचीनगर–४ बाहुनडाँगीबाट स्कार्पियो र चालक भद्रपुर–१० निवासी ५४ वर्षीय लिला श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ।

सिटी सफारी चालक मेचीनगर–६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातर तथा दुर्घटनामा संलग्न सिटी सफारी इलाका प्रहरी चौकी ज्यामीरगढीको नियन्त्रणमा रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।