झापा । झापाका प्रमुख जिल्ला अधिकारीले चर्को आवाजमा डिजे बजाएर सर्वसाधारणलाई असर नपुर्याउन जिल्लाका सम्पूर्ण डिजे सञ्चालकलाई आग्रह गरेका छन्।
मूर्ति विसर्जन तथा अन्य धार्मिक र सांस्कृतिक अनुष्ठान सञ्चालन गर्दा विभिन्न धर्म र सम्प्रदायका आस्था, धार्मिक तथा सांस्कृतिक भावनाको सम्मान गर्न र सामाजिक सद्भाव कायम राख्न प्रशासनले अनुरोध गरेको छ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सामाजिक भावना अनुकूल, सन्तुलित र मर्यादित ढङ्गले मात्रै डिजे प्रयोग गर्न सूचनामार्फत आग्रह गरिएको छ।
निर्देशनविपरीत चर्को आवाजमा डिजे बजाएको पाइएमा सञ्चालक तथा डिजेको स्वामित्ववालालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाएका छन्।




















