बिर्तामोड । लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा अर्जुनधारा जलेश्वर धाममा सुरु हुन लागेको ४४औँ अनुष्ठानको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको सन्तलाल–वृजमोहन गट्टानी स्मृति हाफ म्याराथनको तयारी पूरा भएको छ ।
अर्जुनधारा जलेश्वर धामबाट सुरु हुने हाफ म्याराथन धाइजन, बुधबारे, जयपुर र झम्केचोक हुँदै पुनः जलेश्वर धाममै पुगेर समापन हुनेछ । प्रतियोगितामा धावकहरूले २१ दशमलव ९७५ किलोमिटर दूरी पार गर्नुपर्नेछ ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कारको व्यवस्था गरिएको छ । दुवै विधाका विजेताले क्रमशः १ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुनेले ७५ हजार १ रुपैयाँ र तेस्रो हुनेले ५१ हजार १ रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी थप सात जना धावकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
सहसंयोजक प्रशान्त भण्डारीका अनुसार प्रतियोगितामा सहभागी धावकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्राथमिक उपचार, एम्बुलेन्स तथा यातायातका लागि बसको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा केन्याका धावकहरूसमेत सहभागी हुने आयोजकले जनाएको छ । नेपाली एथलेटिक्सका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि कार्यक्रममा उपस्थित हुने बताइएको छ ।
आयोजकले प्रतियोगितामार्फत खेलकुदको विकाससँगै लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र अर्जुनधारा जलेश्वर धामको धार्मिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने लक्ष्य राखेको छ । तयारीका सबै काम पूरा भएकाले प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न हुने आयोजकको अपेक्षा छ ।



















