बिर्तामोड । गुणस्तरहिन पोलम निर्माण गरेको भन्दै झापाको बिर्तामोड–३ का जनप्रतिनिधिले नाला भत्काएका छन् । बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशाला जाने सडकको पोलम निर्माण गर्दा ठेकेदारको लापरवाहीले गुणस्तरहिन नाला निर्माण भएको आरोप जनप्रतिनिधिको छ । 

बिर्तामोड नगरपालिकाले रंगशाला जाने र सैनिकमोडबाट तेलघानी जाने सडक निर्माणमा चरम लापरवाही गरेको आरोप लगाएका छन् । शुक्रबार बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी र सदस्य हरिप्रसाद बाँस्कोटा लगायत स्थानीयले गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेर नाला निर्माण भइरहेको अवस्थामा अवरोध गर्दै नाला भत्काएका हुन् । उनीहरुले हाल निर्माण भइरहेको सम्पुर्ण नाला भत्काएर पुनः निर्माण गर्न दवाव दिएका छन् । 

बिर्तामोड नगरपालिकाले १ करोड १० लाखमा सो सडक निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । यज्ञ निर्माण सेवाले ६९ लाखमा टेण्डर पारेर निर्माणको काम सुरु गरेको थियो । निर्माणका क्रममा नालाको गुणस्तर कमजोर भएपछि बिवाद उत्पन्न भएको हो । बिवादकै क्रममा जनप्रतिनिधिले नाला भत्काएका हुन् । 

रंगशालाबाट तेलघानी जाने बाटोसम्मको २५० मिटर र सैनिकमोड जोड्ने १८० मिटर नालासहित सडक स्तारोन्नती गर्ने सम्झौता भएको वडाध्यक्ष बुढाथोकीले बताए । स्थानीयका अनुसार बिलो अंकमा ठेक्का लिएको निर्माण कम्पनीले नगरका कर्मचारीसँगको सेटिङमा गुणस्तरहिन सडक निर्माण गरि बिल पास गर्ने गरेको आरोप लगाएका छन् । 

वडा सदस्य बाँस्कोटाका अनुसार ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नुपर्नेमा ४३ ग्रेडको सिमेन्ट प्रयोग भइरहेको छ । पहिला निर्माण भएको स्थानमा निर्माण पुरा नहुँदै उक्किएपछि ठेकेदार कम्पनीले त्यसलाई टालटुल पारेपछि जनप्रतिनिधिले अनुगमन गरेका थिए । अनुगमनका क्रममा निर्माणमा लापरवाही भएको भन्दै नाला भत्काएको उनीहरुले बताएका छन् । 

कम्पनीका सञ्चालक यज्ञ कटवालले निर्माणका क्रममा कमजोरी भएको स्वीकारेका छन् । उनले त्यहा निर्माण भएको सम्पुर्ण नाला भत्काउन नपर्ने भन्दै केही स्थानमा कर्मचारीको गल्तीले गुणस्तरहिन निर्माण भएको बताए । निर्माण भइसकेको नाला पुरै भत्काउनु परेपनि आफु तयार रहेको बताएका छन् । 

बिर्तामोडका केही जनप्रतिनिधि, ठेकेदार र कर्मचारीको सेटिङमा यसअघि पनि गुणस्तरहिन संरचना निर्माण हुने गरेको स्थानीयको आरोप छ । कमिसनको लोभमा जनताको करबाट निर्मित संरचनामा खेलवाड नगर्न उनीहरुले चेतावनी दिएका छन् ।