बिर्तामाेड । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि लायन्स इन्टरनेशनलले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका विभिन्न डिस्ट्रिक्ट तथा क्लबहरूले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

लायन्स इन्टरनेशनल फाउन्डेसनले तत्काल राहत व्यवस्थापन तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर बराबरको मेजर क्याटास्ट्रोफी ग्रान्ट उपलब्ध गराएको छ।

बाढी आएको दोस्रो दिनदेखि लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ ले १५ वटा डिस्ट्रिक्टबाट सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको जनाइएको छ।

यसैगरी, डिस्ट्रिक्ट ३२५ सीबाट आह्वान गरिएको सहयोग अभियानमा छ दिनभित्र १६ लाख ११ हजार रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

बाढी प्रभावित क्षेत्र तथा आसपासका स्थानमा लायन्स क्लबहरूले नियमित रूपमा राहत सामग्री वितरण गर्नुका साथै होल्डिङ सेन्टरमा विस्थापित परिवारलाई आवास, खाद्यान्नलगायतका सेवा उपलब्ध गराउँदै आएका छन्।

यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी भूमिस्वर पोखरेलले विपद्को समयमा सामाजिक संघ–संस्थाबाट प्राप्त सहयोगले प्रभावितको उद्धार तथा राहत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ का गभर्नर लिला चिमरियाले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले लायन्सका विभिन्न क्लब तथा सदस्यहरूबाट सहयोग संकलन र वितरणको काम भइरहेको बताउनुभयो। उहाँले राहतसँगै प्रभावित परिवारको पुनःस्थापनामा समेत लायन्सले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।