बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–१ सालबारीबाट प्रहरीले १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एए ५३८० नम्बरको मोटरसाइकलमा सवार झापा गाउँपालिका–१ सालमारा निवासी ३६ वर्षीय नसिम अकर मियाँ र ३० वर्षीय सलमान मियाँलाई शंकाका आधारमा चेकजाँच गरिएको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा उनीहरूले लगाएको कपडाभित्र लुकाइछिपाइ ल्याएको प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।