बिर्तामोड । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो ।

अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको कुरा पुष्टि भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ,’ डिभिजन प्रमुख राईले भने, ‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ, यस बारेमा डिभिजन कार्यालयले अनुसन्धान थालिसकेको छ ।’ गोली अझै फेला परेको छैन । पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ । गोली हड्डीभित्र छिरेकोले हाललाई निकाल्न सकिएन । ‘हात्तीको हड्डी निकै कडा हुन्छ, त्यसैले गोली निकाल्न समस्या भयो,’ डिभिजन प्रमुख राईले भने । ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको कुरा पनि बाहिर आउँथ्यो,’ उनले भने ।
हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ । ‘अरू भाग पोस्टमार्टम गरी निकालेका छौँ । पुच्छरको रौँ पनि तानेर लगेको छ’ उनको भनाई छ ।

स्थानीयका अनुसार बैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो । यो घटना त्यही दिनको हुन सक्ने अनुमान गरिएको उनले बताए । हात्तीको पोस्टमार्टम गरी बुधवार नै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए । ‘जिल्लामा यस्तो घटना अहिलेसम्म भएको थिएन, यो पहिलो घटना पनि हो,’ उनले भने ।