बिर्तामोड, । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा गलत प्रचारको पछि नलाग्न लोकतान्त्रिक व्यवसायिक प्यानलका उम्मेदवारले आम मतदातालाई आग्रह गरेका छन् । उनीहरुले पार्टीका नेता र भ्रम फैलाउने नियोजित प्रचारका पछि नलागेर बजारमा उठान भएका विषयवस्तुबारे सत्यतथ्य बुझ्न समेत मतदातामाझ आग्रह गरेका छन् ।

लोकतान्त्रिक व्यवसायिक प्यानलले फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको विषयमा बिहीबार सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा बोल्दै कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईले गलत प्रचारको पछि नलाग्न आम मतदातालाई आग्रह गरेका हुन् । उनले वाणिज्य संघको वर्तमान कार्यसमितिले व्यवसायिको हकहितका लागि इतिहासमै सबैभन्दा बढी संघर्ष गरेको बताए । 

‘व्यवसायिहरु अध्यारोमा भए । बिजुली बाल्ने एउटा मिटरबक्स दिनुपर्यो भनेर बिर्तामोड नगरपालिकामा निवेदन बोकेर जाँदा वर्तमान उम्मेदवार राजु न्यौपानेसहितका वाणिज्य संघका पदाधिकारीहरु प्रहरीको हिरासतमा बस्नुपर्याे’ उनले भने,‘अहिले केही प्रायोजित मिडियाहरुले वाणिज्य संघले केही गरेन भनेर भ्रम फैलाइरहेका छन् । यति सामान्य कुरा बिर्तामोडका मतदाताले बुझेका छैनन् र  ?’

उनले लोकतान्त्रिक व्यवसायिक प्यानलको जितको विकल्प नरहेको बताए । ‘बिर्तामोड नगरपालिकाले ‘व्यवसायी मारा’ नीति लिएको छ । हाटबजार भत्काएर, मुद्दा मामिला गरेर व्यवसायीलाई विस्थापित गरिरहेको छ । त्यसमाथि जथाभावी कर लगाउने र कर पनि आफूखुसी वृद्धि गरेर व्यापारीलाई व्यापार व्यवसायी नै गर्न नसक्ने अवस्था बनाइरहेको छ’ उनले भने,‘यस्तो अवस्थामा व्यवसायीको पक्षमा बोल्ने, प्रहरीको लाठीचार्ज खान सक्ने र हिरासतमा समेत बस्न सक्ने वाणिज्य संघ चाहिएको छ । त्यसका लागि लोकतान्त्रिक व्यवसायिक प्यानलको विकल्प छैन् ।’

कांग्रेस क्षेत्रीय सभापति खगेन्द्र मैनालीले बिर्तामोड नगरपालिकाबाट नगरभित्रका व्यवसायी कति पीडित छन् ? भनेर स्पष्ट रहेकाले त्यसविरुद्ध व्यवसायीको आवाज उठाउने नेतृत्वलाई मत दिन आग्रह गरे । क्षेत्र नम्बर २ (क) का सभापति लक्ष्मी आचार्यले बिर्तामोड नगरपालिकाले पटकपटक विवाद र अवरोध खडा गरेपनि वाणिज्य संघको नेतृत्वले सबैखाले समस्याहरु सामना गर्दै व्यवसायीको हितमा काम गरेको बताए । 

पूर्व जनप्रतिनिधि कुलप्रसाद संग्रौलाले वाणिज्य संघ राजनीति गर्ने थलो नभएको बताए । उनले पार्टीगत सहयोग भएपनि पार्टीको निर्देशन नै लागू गर्न खोज्नु व्यवसायीको हित विपरित हुने तर्क गरे  । उनले लोकतान्त्रिक व्यवसायीक प्यानलमा पार्टीको सहयोग भएपनि निर्देशन र आदेश नै पालना गर्नुपर्ने अवस्था नरहेको बताए । ‘वाणिज्य संघको नेतृत्वलाई पार्टीको निर्देशन र आदेश लाद्ने काम भयो भने व्यवसायीको हकहितमा काम हुदैन । अहिले वाणिज्य संघको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका दुइटा प्यानलमध्ये कुन प्यानललाई पार्टीको ठाडो निर्देशन र आदेश लागू हुन्छ त्यो सबै मतदाताले राम्रोसंग बुझेका छन्’ उनले भने । 

निर्वाचन प्रचार प्रसार समितिका संयोजक बलराम कार्कीले वाणिज्य संघको विरोधका बीच बिर्तामोड नगरपालिकाले अहिले अचाक्ली कर वृद्धि गरेर व्यवसायीलाई व्यापार नै गर्न नसक्ने अवस्थामा पु्र्याएकाे बताए ।