झापा । पश्चिम बंगाल विधानसभाको २०२६ को आम निर्वाचनलाई मध्यनजर गर्दै दार्जिलिङ जिल्लामा अन्तर्राष्ट्रिय स्थलसीमा सिल गरिने भएको छ।

जिल्ला दण्डाधिकारी तथा जिल्ला निर्वाचन अधिकारी हरिशंकर पनिकर (IAS) द्वारा जारी सूचनाअनुसार, निर्वाचन आयोगले ३० मार्च २०२६ मा निर्वाचन घोषणा गरेको थियो भने दार्जिलिङ जिल्लामा मतदान वैशाख ११ (एप्रिल २३) मा हुने तय गरिएको छ।

निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आज साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नेपाल र बंगलादेशसँग जोडिएका सबै प्रवेश तथा निकास नाकाहरू सिल गरिनेछ। यस अवधिमा मानिस तथा सवारी साधनको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइनेछ।

जिल्ला प्रशासनले BNSS २०२३ को दफा १६३(२) अन्तर्गत अधिकार प्रयोग गर्दै उक्त आदेश जारी गरेको हो।

तर, केही विशेष अवस्थामा भने आवतजावतमा छुट दिइनेछ। आकस्मिक चिकित्सा उपचारका लागि बिरामीहरूलाई आवतजावत गर्न अनुमति दिइनेछ भने नेपाल वा बंगलादेशमा रहेका भारतीय तथा विदेशी पर्यटकहरूले वैध कागजात देखाएमा भारत प्रवेश गर्न पाउनेछन्। साथै, आवश्यक तथा नाशवंत वस्तु बोकेका सवारी साधनहरूलाई कडाइका साथ जाँचपछि सञ्चालन गर्न दिइनेछ।

त्यस्तै, दार्जिलिङ जिल्लाका पाँच निर्वाचन क्षेत्र—दार्जिलिङ, कुर्सियाङ, माटीगरा–नक्सलबारी , सिलिगुडी र फाँसिदेवाका मतदाताहरूले आवश्यक कागजात देखाएर मतदा्न अवधिमा आवतजावत गर्न सक्ने जनाइएको छ।

जिल्ला प्रशासनले उक्त सूचनालाई सम्बन्धित निकायहरू मुख्य निर्वाचन अधिकारी, डिभिजनल कमिश्नर, जिल्ला न्यायाधीश, प्रहरी निकायहरू, SSB, BSF लगायत—लाई जानकारी गराइसकेको छ। साथै, मिडिया तथा आधिकारिक वेबसाइटमार्फत व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिइएको छ।