बिर्तामाेड । बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुने भएको छ । युवाहरु सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुन लागेको हो ।  

नेपालमै युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने भएको छ । जसलाई उनीहरुले बिजनेस ग्रुप नामाकरण गरेका छन् । 

सबैभन्दा पहिला विभिन्न बिषयमा विज्ञ १० जना युवाहरुलाई समेटेर व्यबसायिक अवधारणा आदान प्रदान गरिने कार्यक्रम रहेको अभियन्ता उप्रेतीले जानकारी दिए । यहाँ उपलब्ध अवधारणा मध्ये उत्कृष्ठ अवधारणामा लगानी गरेर ब्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यसपछि युवा उद्यमी क्लब निर्माण गर्ने योजना समुहको रहने उनले बताए । दोस्रो बर्षमा १८ देखि ३० बर्षका युवालाई संगठित गरेर उनीहरुको व्यवसायिक अवधारणा मुल्यांकन गरेर त्यसमा लगानी गरिने गिरीले बताए ।  

युवा उद्यमी समुहले प्रत्यक्ष निगरानी गर्ने गरी १६ बर्षमुनीका बालक तथा युवाहरुलाई लक्षित गरी उनीहरुको पनि उद्यमी समुह निर्माण गर्ने बताइएको छ । यो समुह बिद्यालयमा खोलिने गिरीले जानकारी दिए । बिद्यालयमा उद्यम विकास सम्बन्धि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समुहको रहने उनले बताए ।

गिरीका अनुसार यो समुहको लक्ष्य भनेको बिद्यालयस्तरदेखि नै युवाहरुमा व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसाय सम्बन्धि अनुसंधान गर्न प्रेरित गर्नु रहेको उनीहरुको भनाई छ । शुरुमा यो समुह देशभर काम गर्ने भएपनि यसले भविष्यमा दायरा अझ फराकिलो बनाउँदै लाने लक्ष्य रहेको जनाएको छ ।