बिर्तामोड । बिर्तामोड नगरपालिका–७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा गम्भिर घाइते भएका भारतीय नागरिक ५५ बर्षिय गणेश सहनी रहेको खुलेको छ ।

स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रममा सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा सो मेशिन विस्फोट भएको थियो । घटनमा परी सहनीको शरिरको तल्लो भाग क्षतबिक्षत भएको सो वडाका वडाध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिए । 

बिष्फोटमा परेर सहनीको खुट्टा चुडिएको छ भने शरिरको कम्मरमुनीको भाग क्षतबिक्षत भएको छ । घटनामा परेर गम्भिर घाइते भएका सहनीको विएण्सी हस्पिटलमा उपचार भइरहेको खरेलले बताए । सहनी हरेक समारोहमा बेलुन फुलाउने काम गर्दै आएका थिए । भारतको सिलिगुडीबाट उनलाई सोही कामको लागि ल्याइएको हो ।   

विस्फोटमा अन्य एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । सो घटनापछि विद्यालयले खेलकुदको कार्यक्रम स्थगित गरेको छ ।