बिर्तामोड । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन सक्छ। केही स्थानमा भारी वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।
सम्भावित वर्षाका कारण नदीमा जलसतह बढ्ने, बाढी तथा पहिरोको जोखिम रहने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र किसानलाई धानबाली भित्र्याउने काम समयमै सम्पन्न गर्न अनुरोध गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



















