बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। ग्यारेज रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ।
आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
यस्तै, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत आगोको असर परेको छ। आगो निभाउने क्रममा गोदाममा रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर अनुमानित २५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।