बिर्तामोड । कोशी प्रदेशकै प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड अस्तव्यस्त छ । जनताद्धारा निर्वाचित कार्यकारी अधिकारसहितका जनप्रतिनिधि आएको ६ बर्ष बितिसक्दासमेत बिर्तामोडका मुख्य एजेण्डाहरु सम्बोधन हुन सकेको छैन । जुन एजेण्डा तिनै जनप्रतिनिधिले निर्वाचन ताका अघि सारेका हुन् । 

बिर्तामोडको मुख्य समस्या ब्यवस्थित शहर नै हो । शहर ब्यवस्थित नहुँदा सवारी पार्किङदेखि किनमेल गर्न आउनेसम्मले सास्ती खेप्नुपरेको छ । फोहोर ब्यवस्थापन गर्न नसक्दा स्थानीयदेखि आगन्तुकसम्मले नाक थ्ुनेर हिड्नुपर्ने बाध्यता छ । जनताका निजी जमिनमा फोहोर थुपार्दै आएको बिर्तामोड नगरपालिकाले यसको दीर्घकालिन ब्यवस्थापन गर्न सकेको छैन । 

सार्वजनिक शौचालयः सोच्ने फुर्सद छैन

बिर्तामोड शहरको जनसंख्या डेढ लाख बढी छ । यहाँ अरु लाख हाराहारी बसोबास गर्छन् । दैनिक कारोबार गर्न आउनेको संख्या पनि लाखौं छ । पुर्वको चारवटा पहाडि जिल्लाका बासिन्दाको दैनिकी बिर्तामोडबाट नै चल्छ । 

पुर्वको बुट्टाबारीदेखि पश्चिममा लक्ष्मीपुरसम्म सडक आसपास सार्वजनिक शौचालय छैन । यस बिषयमा जनप्रतिनिधिलाई कुनै चासो पनि छैन । जनप्रतिनिधिसँग यो बारेमा प्रश्न गर्दा पेट्रोल पम्प, होटल, सुपर मार्केटमा गएर शौच गर्न सुझाव दिन्छन् । यो जनप्रतिनिधि चयन हुनु अघिकै एजेण्डा हो । बिर्तामोडमा सार्वजनिक शौचालय नहुँदा घण्टौ दिशा पिसाव रोकेर घर फर्किनुपर्ने सर्वसाधारणको बाधयता छ ।

फोहोरी बिर्तामोडः अहिलेसम्म बनेन डम्पिङ साइट

fohor 1

बिर्तामोडको मुख्य समस्या भनेको फोहोर ब्यवस्थापन हो । यस बिषयमा जनतालाई पटक–पटक झुक्याउने बाहेक दीर्घकालिन समाधान हुन सकेन । कनकाई नगरपालिकामा निर्माण भएको बायोग्याँस प्लाण्टमा फोहोर लैजाने भनेर चार बर्ष आश्वासन दिएका जनप्रतिनिधिले अहिलेसम्म एक गाडी फोहोर पनि त्यता लान सकेका छैनन । प्लान्ट निर्माण सम्पन्न भइसकेपछि पनि त्यो सञ्चालनमा आउन सकेको छैन । प्लाण्ट निर्माणमा बिर्तामोड नगरपालिकाको पनि लगानी छ । 

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले भने काम हुँदै गरेकाले केही समय पर्खिनुपर्ने बताए । बिर्तामोडको गरामनी क्षेत्रमा डम्पिङ साइट बनाउने योजना अघि सारेको पाण्डेले जानकारी दिए । उनले नगरले आफै जमिन खरिद गरेर फोहोर ब्यवस्थापनको समस्याको दीर्घकालिन समाधान खोज्ने तयारी भइरहेको बताए । हाल बिर्तामोडको फोहोर हप्तौसम्म उठ्न सकेको छैन । 

बिर्तामोडमा छैन पार्किङ

btm mun

बिर्तामोडमा अर्काे मुख्य समस्या पार्किङको हो । सवारी साधन समेत राख्ने उचित स्थान नहुँदा बिर्तामोडमा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । बिर्तामोडको मुख्य सडक शनिश्चरे रोड र भद्रपुर रोडको दुबै तर्फ एक किलोमिटर भन्दा धेरै सवारी पार्किङ हुने गरेको छ । जसका कारण आवत जावतमा समस्या र दुर्घटना पनि बढ्दो छ । ठुला–ठुला ब्यापारिक भवनहरु र बित्तीय कारोबार गर्ने संस्थाहरु यिनै सडक आसपासमा रहेकाले सधै अस्त ब्यस्त रहने गर्छ । यो बिषयमा नगरमा एजेण्डा उठेपनि निष्कर्ष आउन सकेको छैन । 

कतिपय ठुला ब्यापारिक मलहरुले निर्माण गरेको पार्किङ पनि व्यापारिक प्रयोजनमा लगाएका छन् । झापाको ठुलो मध्येको हनुमान सेन्ट्रल, मेघा कम्प्लेक्स लगायतको पार्किङ स्थाल छैन । उनीहरु सडकको जमिनमा सवारी पार्क गराएर ब्यवसाय चलाइरहेका छन् । नेपाल बैकबाहेक अन्य बित्तीय संस्थाको बिर्तामोडमा आफ्नो पार्किङ छैन । जसका कारण घण्टौंसम्म सडकमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । 

कषिथोक बजारः परिवर्तनको महसुस नै भएन 

falful

कोशी प्रदेशकै सबैभन्दा ठुलो कृषिथोक बजारले हालसम्म परिवर्तनको महसुस गर्न पाएको छैन । बिर्तामोडको कृषिथोक बजारमा नेपाल, भारत, भुटान, बङलादेश, म्यानमार, चीन लगायतका बजारबाट आयात भएका फलफुल तथा तरकारीको कारोबार हुने गरेको छ । तर, बजार व्यवस्थित नहुँदा फलफुल र तरकारीसँगै रोग पनि किनेर लानुपर्ने उपभोक्ताको बाध्यता छ ।

कृषिथोक बजार प्रवेश गर्ने बित्तिकै दुर्गन्धले मुख छोप्नुपर्ने बाध्यता त छ । त्यहाँ रहेको बिषादी मापन गर्ने प्रयोगशाला बन्द हुँदा जनताको चुल्होमा बिषादी पुग्ने गरेको छ । बर्षातको समयमा डुवानमा पर्ने कृषिथोक बजारको पहिचान हो । हिउँदमा धुलोले पुरिनुपर्ने उपभोक्ताको गुनासो छ । 

कृषिथोक बजारलाई ब्यवस्थित गरेर हातबाट झरेको खानेकुरा टिपेर खानसक्ने बनाउँछु भन्ने यसअघिका मेयर ध्रुबकुमार शिवाकोटीले माखो समेत मारेनन् । अहिलेका मेयर पवित्रा महतारा प्रसाईँले पनि त्यसतर्फ चासो दिन सकेकी छैनन् । कृषिथोक बजार नगरपालिकाको मातहतमा नरहेको भन्दै जनप्रतिनिधि सधै पन्छिन मात्र चाहन्छन् । नीतिगत समस्या देखाउँदै भाग्न जनप्रतिनिधिलाई बलियो बहाना कृषिथोक बजार भएको छ । 

खानेपानीः दलीय अड्डा

khanepani

देशमै उत्कृष्ठ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था भनेर चर्चा कमाएको बिर्तामोड खानेपानी सबैको पहुँचमा पुग्दैन । मिटर जडान गर्दा नै महङगो शुल्क तिर्नुपर्ने भएका कारण बिपन्न समुदायको पहुँचमा छैन । अहिलेपनि बिर्तामोडमा आर्सेनिक युक्त चापाकलको पानी खानुपर्ने बाध्यता रहेको छ । त्यसमा पनि एउटा दलको नेतृत्वमा चलेको संस्था भएका कारण अर्काे दल समर्थक उपभोक्ताले मिटर जडान गर्नुपरे सास्ती ब्यहोर्नु पर्छ । 

बिर्तामोड नगरपालिका र खानेपानी संस्थाबीच समन्वय नहुँदा सर्बसाधारणले सहज रुपमा मिटर जोड्न पाउँदैनन् । यसमा दलीय कारण नै प्रमुख हो । मिटर जडानमा लचिलो नभएका कारण बिर्तामोडमा हालसम्म करीब ९ हजार उपभोक्ताले मात्र मिटर जडान गर्न पाएका छन् । 

उद्योगः न नियम, न कानुन

बिर्तामोडमा साना ठुला गरी झण्डै तीनसय उद्योग छन् । इटा भट्टा, प्लाइ फ्याक्ट्री, भेनियर उद्योग, सिमेन्ट उद्योग, गार्मेन्ट, ब्लक उद्योग, स्टिल फ्याक्ट्री, कलर उद्योग, चिया उद्योग, बिभिन्न खाद्यान्न उद्योग यहाँ सञ्चालनमा छन् । 

ती उद्योगहरुमा न अनुगमन हुन्छ, न नियमानुसार राजश्व संकलन हुन्छ । बिर्तामोडको २ न वडालाई औद्योगिक क्षेत्र घोषणा गरिएको छ । त्यहाँमात्र दर्जनौ उद्योग सञ्चालनमा छन् । त्यहाँ कार्यारत ८० प्रतिशत भन्दा बढी मजदुर भारतीय रहेका छन् । यहाँबाट करोडौ रकम बाहिरिने गरेको छ । त्यस बिषयमा नगरले थाहा पाएर पनि केही गर्न सकेको छैन । 

नेपाली मजदुरले रोजगार नपाएर बिदेशिनुपर्ने बाध्यता रहेपनि नेपाली मजदुरलाई रोजगार दिलाउन नगरले कुनै योजना बनाउन सकेको छैन । यति मात्र होइन, कुन उद्योगमा कति मजदुर कुन देशका छन् भन्ने कुराको लेखाजोखा पनि नगरले गरेको छैन । स्थानीयले त्यहाँ उत्पन्न हुने प्रदुषण र कोलाहल झेल्न बाहेक अन्य केही पाउन सकेका छैनन् । 

घरबहाल करः उठाउनै सकस

बिर्तामोडको प्रमुख आन्तरिक आम्दानी भनेकै घर बहाल कर हो । तर, यहाँका सम्पन्न घरानाका ब्यक्तिहरुको दवावका कारण ६ बर्षदेखि घरबहाल कर उठ्न सकेको छैन । घर भाडामा लगाए बापत घरधनीले आम्दानीको १० प्रतिशत बहालकर बुझाउनु पर्ने हुन्छ । तर, अहिलेसम्म यसलाई ब्यवस्थित गर्न नगरले सकेको छैन । 

यहाँ हजारौ ब्यवसायिक फर्म छन् । त्यसैगरी हजारौ कोठा भाडामा लिएर आवासमा प्रयोग भएका छन् । यस बापत करोडौं रकम संकलन हुनुपर्नेमा अहिले संकलन नगन्य छ । फर्मको नविकरणमा अनिवार्य बहालकर तिरेको रसिद नखोज्ने हो भने यो करसमेत शुन्य हुने अवस्था छ । 

यस्ता बग्रेल्ती समस्या बिर्तामोडमा छन् । समस्या समाधान गछौं भनेर निर्वाचित जनप्रतिनिधिले बाचा गरेको पनि ६ बर्ष बितिसक्यो । समस्या समाधान त कता हो कता उनीहरु नै अलमलिएको पाइन्छ । बिर्तामोडमा भौतिक बिकास धेरै गरियो भन्ने हल्ला फैलाएपनि मुख्य समस्यामा भने जनप्रतिनिधिहरु प्रवेश गर्ने सकेका छैनन् । (ब्लाष्ट खबरबाट)