बिर्तामोड । भारतीय सीमावर्ती सहर किशनगञ्जमा प्रहरीले ५५ लाख भारतीय रुपैयाँ बराबरको ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ३७१ ग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । कारबाहीका क्रममा प्रहरीले १५ हजार ६०० नेपाली रुपैयाँ र एउटा मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्लास्थित बहादुरगञ्जका ४१ वर्षीय शाबीर अन्सारी र झापाको कचनकवल गाउँपालिका–केचना निवासी ३० वर्षीय इमरान खान मियाँ रहेका छन् ।

प्रहरीले बरामद लागूऔषध, नगद र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि अनुसन्धान अघि बढाएको छ ।