बिर्तामोड । दोस्रो संस्करणको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार रुपैयाँले बढाइएको हो ।

आगामी मंसिर ५ देखि १२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

झापा महिला गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणमा उपविजेताले ५ लाख रुपैयाँ पाएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।

गोल्डकपमा विभागीय टोली एपीएफ एफसी, नेपाल पुलिस एफसी र त्रिभुवन आर्मी एफसीसहित नेपालका ए डिभिजन क्लब, भारत, भुटान र आयोजक टोली गरी आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

करिब १२ हजार दर्शक क्षमताको दुधे रंगशालाको स्तरोन्नतिको काम तीव्र पारिएको छ । रंगशालाको पूर्वी भागमा मेटलको प्यारापिट निर्माण गरिनेछ भने खेलमैदान र बाँसको अस्थायी प्यारापिट निर्माणको काम कात्तिक तेस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष थोप्राले बताए ।

टिकटबाट सामाजिक सेवामा सहयोग

गोल्डकपलाई खेलकुदसँगै सामाजिक सेवासँग जोड्ने उद्देश्यले टिकट बिक्रीबाट प्राप्त प्रत्येक टिकटको १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययनरत एक विद्यालयलाई प्रदान गरिने अध्यक्ष थोप्राले जानकारी दिए ।

पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो । एपीएफ एफसीलाई मिना देउवाको निर्णायक गोलमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

पुरस्कार राशि वृद्धि, रंगशालाको स्तरोन्नति र सामाजिक सेवामा सहयोगको योजनासहित आयोजना हुन लागेको दोस्रो संस्करणको गोल्डकपले महिला फुटबलको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।