झापा । झापाको बिर्तामोड -६ मा रहेकोे ‘गिरीबन्धु टि–स्टेट’ भित्र पारिवारिक विवाद उत्कर्षमा पुगेको छ । कम्पनीका एक शेयरधनी छत्रबहादुर गिरीले आफुखुशी गर्न थालेपछि अन्य शेयरधनीले आफ्नो हिस्साबारे अधिकार खोजेका छन् । छत्रबहादुरको हालीमुहालीले सिमा नाघेको भन्दै अन्य शेयर सदस्य न्यायका लागि अदालत धाइरहेका छन् ।
अन्य शेयरधनीका अनुसार छत्रबहादुर गिरीले बगानभित्र आफुखुशी जमिन बेचिरहेका छन् । जमिन बेच्दै करोडौं रकम उठाएकोमा साझेदारहरुले आपत्ति जनाएका छन् ।

२०२० सालमा स्थापित गिरीबन्धु टि–स्टेटमा छत्रबहादुर गिरी २५ प्रतिशत साझेदार हुन् । त्यतिबेला देखि नै अन्य साझेदारको कम्पनीमा ७५ प्रतिशत हिस्सा छ । छत्रबहादुरले अन्य साझेदारले पाउने हिस्सा नदिई एकलौटी रुपमा जमिन दिने भन्दै झापादेखि काठमाण्डौसम्मका ब्यवसायीसँग करोडौं रकम उठाएको आरोप उनीहरुले लगाएका छन् ।
झापाको पृथ्विनगरमा चिया बगान स्थानान्तरण गर्ने भन्दै जमिन विक्री गर्न थालिएको थियो, अन्य शेयर सदस्य भन्छन्, – अन्य शेयर सदस्यहरुको सहमति बेगर जमिन बेच्न पाइदैन । छत्रबहादुर गिरीले ब्यवसायीसँग करोडौ रकम उठाएको अर्का साझेदार कृष्णकुमार गिरीका छोरा नविन गिरीले बताएका छन् । छत्रबहादुरले २५ देखि ३० करोडको हाराहारीमा रकम उठाएको उनको अनुमान छ । जग्गा खरिदबाट उठाइएको करोडौं रुपैयाँको कम्पनी जवाफदेही नहुने र उक्त रकमको जिम्मेवारी छत्रबहादुर गिरी र किनबेचमा संलग्न एजेन्टहरु नै हुने नविन गिरीको भनाई छ ।

tea-garden

‘हामीलाई थाहा नै छैन, छत्र काकाले बजारमा करोडौं रकम उठाउँदै हुनुहुन्छ अरे, गिरीले भने–‘२५ देखि २७ प्रतिशत शेयर भएको कम्पनीको शेयर होल्डरले १०० प्रतिशत नै मेरो हो भनेर भ्रम छरिरहनु भएको छ । तर, हामीले त्यो जमिन खरिद गर्ने नाममा कोही पनि नफसुन भनेर सत्य कुरा सार्वजनिक गरेका हौं ।

गिरीबन्धु टि–स्टेटको २०४० सालमा भएको बिशेष साधारणसभाले भगवान गिरी, प्रेमकुमार गिरी र कृष्णकुमार गिरीलाई कम्पनीको हिस्साका रुपमा राजमार्गको उत्तरपटी १०२ बिगाहा जमिन दिने निर्णय गरेको थियो । त्यसबेला चलअचल सम्पतिको मुल्यांकन गरेर २३ लाख ५१ हजार रुपैयाँ छत्रबहादुर गिरीले भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार छत्रबहादुरले १० लाख रुपैंयाँमात्र दिएको नविन गिरीले उपलब्ध गराएको कागजपत्रमा उल्लेख छ ।

बाँकी रकम १३ लाख ५१ हजार रुपैंयाँ र कम्पनीको हिस्सा १०२ बिगाहा जमिन आफुले पाउनुपर्ने मागसहित असन्तुष्ट गिरी परिवारले छत्रबहादुरलाई प्रतिवादी बनाउँदै २०७८ सालमा ‘कीर्ते जालसाँझ’ र ‘दुषित कित्ता नक्सा एकिकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन’ मुद्दा दर्ता गराएको थियो । सो मुद्दा अहिले पनि अदालतमा बिचाराधिन छ । यसैगरी २०७९ साल असोजमा कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘आवश्यक छानविन गरी कम्पनीको हिसाब किताब गरी शेयर समेत अद्यावधिक गरी पाउँ’ भन्दै पीडित पक्षले निवेदन गरेको थियो ।

छत्रबहादुरले २०७८ चैत्रमा पीडितको माग दावी अनुसारको जमिन छुट्याउन बाँकी रहेको प्रतिउत्तर अदालतमा फर्काएका थिए । सो प्रतिउत्तरमा उनले बिशेष साधारणसभाले गिरीबन्धु टि–स्टेट प्रालीको नाममा दर्ता कायम रहेको राजमार्ग उत्तर–पुर्वतर्फबाट १०२ बिगाहा जमिन फिर्ता गर्न तयार नै रहेको स्वीकारेका छन् । सो जमिनमा भएको चिया बगान बादीसमेतका हिस्सेदारहरुले भोग गरिरहेको कुरा छत्रबहादुरले स्वीकार गरि रितपुर्वक आएमा जमिन राजीनामा पास गरिदिने अदालतलाई जानकारी गराएका थिए ।

‘हामीले छत्र काकालाई ब्यवहार मिलाउन धेरै पटक अनुरोध ग¥यौं, उहाँ केही न केही बहाना बनाएर हामीसँग सम्पर्कमा आउनु हुन्न, पीडित मध्येका नविनले भने–‘घरमा गएर भेट्यो भनेपनि उहाँ केही न केही बहाना बनाएर काठमाण्डौतिर जानुहुन्छ । उहासँगको सहमतिमा ब्यवहार नमिल्ने देखेर हामीले कानुनी बाटो रोजेका हौं ।’ हामीले अदालतदेखि कम्पनि रजिष्टारको कार्यालयसमेतमा सो जमिनमा रहेको हाम्रो हिस्सा दिलाइ पाउँन निवेदन गरेका छौं । हाम्रो मागको उचित सुनुवाई हुनु पर्छ ।’

‘कम्पनी स्थापना हुँदाका समयमा छत्र काका ९ बर्षको हुनुहुन्थ्यो, यतिबेला उहाँ ७० बर्ष पुग्नुभयो, नविनले भने–‘यतिबेला आएर उहाँ कम्पनीको स्वामित्व एकलौटी बनाउने योजनामा हुनुहुन्छ, त्यसका बिरुद्ध हामी कानुनी लडाईँमा छौं ।’

पीडितहरुको निवेदन उपर कारवाही गर्दै कम्पनी रजिष्टारको कार्यालयले २०७९ फागुनमा ६ बुँदै आदेश गरेको थियो । त्यो निर्देशनलाई पनि छत्रबहादुरले पालना नगरेको पीडितहरुको आरोप छ । २०४० साल कार्तिक १७ को बिशेष साधारणसभाको निर्णय सम्बन्धि सक्कल कागजात, साधारणसभाको निर्णय बमोजिम भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीले आफ्नो स्वामित्वको शेयर बिक्री हस्तान्तरण गरेको भए सो सम्बन्धि लिखत कागजातहरु उजुरकर्ताहरुको नाममा जग्गा हकहस्तान्तरण भए नभएको जवाफ सहित सो सम्बन्धि लिखत कागजात, उजुरकर्ताहरुको नामको शेयर के कुन आधारबाट राइट अफ शेयर भएको हो ? सो सम्बन्धि कानुनी आधार प्रमाण सहितका कागजातहरु र कम्पनी दर्ता हुँदाका बखतको सुरु शेयर लागतको बिवरण र सञ्चालक समितिको निर्णय र कम्पनीका कागजातहरु हालसम्मको अद्यावधिक बिवरण, लेखा परीक्षण प्रतिवेदन तथा कम्पनीबाट भएका हालसम्मका निर्णयहरुको लिखत कागजात बुझाउन कम्पनी रजिष्टारको कार्यालयले आदेश गरेको थियो ।

छत्रबहादुरले कम्पनी घाटामा गएको भन्दै बिगत ८ बर्षदेखि चालु अवस्थामा रहेको उद्योग बन्द गराएका थिए । त्यस स्थानमा उत्पादित हरियो पत्ती आफ्नो छोराको स्वामित्वमा रहेको ‘शमशेर एण्ड गंगादेबी टि कम्पनी’ मा लगेर प्रशोधन गर्दै एकलौटी बिक्री गरिरहेको आरोप पीडित पक्षको छ ।

गिरीबन्धु टि–स्टेटमा छत्रबहादुरसहित प्रेमकुमार, कृष्णकुमार, त्रिलोचन(नन्दकिशोर), श्याम, प्रशान्त, राजेश, भरतलाल र रमेश गिरी शेयर होल्डर छन् । तर, सामाजिक रुपमा छत्रबहादुरले गिरीबन्धु टि–स्टेटलाई एकलौटी जस्तै बनाएका छन् ।

पीडितले २०४० सालदेखि कम्पनिको आम्दानी समेत खोजी गरेका छन् । उनीहरुले छत्रबहादुरले एकलौटी रुपमा आम्दानी चलाइरहेको बताएका छन् । पीडित परिवारले २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पु¥याएको आर्थिक क्षति, हानी नोक्सानी र अन्य गैरकानुनी, अवैध निर्णयहरुका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरु छानविन गरी कानुनी उपचार अवलम्बन गर्न माग गरेको छ । हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति छत्रबहादुरको निजी सम्पत्ति, घरघरानाबाट असुल उपर गरिनुपर्ने माग उनीहरुले राखेका छन् ।