काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो खेल आज (बिहीबार) हुँदैछ। गत शनिबारबाट जारी पाँच खेलको मैत्रीपूर्ण टी २० सिरिजमा तीन खेल खेलेको वेष्ट इण्डिज ए टोलीले दुई खेलमा जित दर्ज गराएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजेदेखि शुरु हुने जनाइएको छ।

पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २ –१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो । सिरिजको चौथो खेलमा घरेलु टोली नेपाल जित्नैपर्ने दबाबमा छ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल नेपालमा भइरहेको हो। विश्वकप खेल्ने टोली आइसकेकाले अबका दुई खेल विश्वकप खेल्ने टोलीले नै खेल्ने अपेक्षा गरिएको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगाण्डा छन्।

विश्वकप जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।