बिर्तामोड । गएराति आएको जङ्गली हात्ती झापाको हल्दीबारीका बस्तीमा प्रवेश गरी विभिन्न घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ।
हात्तीको उपद्रोबाट डिल्लीराम ढुङ्गेलको घर, गिरिजा महतोको घर तथा सोरेन मेचेको घरको पर्खालमा क्षति पुगेको छ। यस्तै, सुनिल मेचेको घरको प्रवेशद्वार र कम्पाउन्ड वाल समेत भत्किएको छ।
हात्तीले श्री पञ्चायत माध्यमिक विद्यालयको मुख्य गेटमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
जङ्गली हात्तीको निरन्तर आवतजावत र उपद्रोका कारण स्थानीयवासी त्रसित बनेका छन्। हात्तीको आतंक बढ्दै जाँदा घर तथा सार्वजनिक संरचनाको सुरक्षामा समेत चुनौती थपिएको स्थानीयले बताएका छन्।
तस्विर: अभिषेक खतिवडा



















