बिर्तामोड । देशमा मनसुन पुनः सक्रिय हुँदै गएसँगै आज कोशी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशीसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। तराईका केही स्थानमा समेत वर्षा हुनसक्ने भएकाले दैनिक आवतजावत र कृषि कार्य प्रभावित हुनसक्ने जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार झापा आसपासमा पनि मौसम बदली भई वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशमा मनसुनको गतिविधि बढ्दै जाँदा आगामी केही दिन वर्षाको क्रम जारी रहनसक्ने देखिएको छ।
महाशाखाले वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नसक्ने, सडकमा पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।




















