बिर्तामोड । झापाको बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

आज बिहान बुद्धशान्ति गाउँपालिका–२ स्थित बिहानी टोलको भित्री सडकमा हात्तीले मोटरसाइकलमाथि आक्रमण गरेको हो ।

बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई तीनतले सामुदायिक वनबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट मोटरसाइकल चालक स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका छन् । उनको छातीमा चोट लागेको छ ।

घाइते पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ ।