बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं-१० मा नयाँ प्रतिभा उत्पादन तथा पहिचान गर्ने उद्देश्यका साथ ‘प्रथम वडा अध्यक्ष अन्तर्राष्ट्रिय गोल्ड कप-२०८३’ आयोजना हुने भएको छ। वडा खेलकुद विकास समिति, बिर्तामोड-१० र स्थानीय सैनिक युथ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
आउँदो मंसिर १३ गतेदेखि सुरु भई २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारीलाई तीव्र पारिएको आयोजक समितिले जनाएको छ। खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको खोजी तथा स्थानीय स्तरमा खेल वातावरण निर्माण गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
प्रतियोगितामा आयोजक, झापा, मोरङ र इलाम लगायत नेपालका उत्कृष्ट टोलीहरूसँगै भारतका दुईवटा आमन्त्रित टिम गरी कुल आठ वटा टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख एक हजार एक सय रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बन्ने टोलीले नगद एक लाख एक हजार एक सय रुपैयाँमा चित्त बुझाउनुपर्नेछ।
यसैगरी व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद २० हजार रुपैयाँसहित प्लेयर अफ द सिरिज प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, रक्षक, मध्यपङ्क्ति र उच्च गोलकर्ता लगायतका विधागत सर्वोत्कृष्टहरूलाई जनही १० हजार रुपैयाँ दिइनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।
कुल १९ लाख रुपैयाँ अनुमानित लागत रहेको यस प्रतियोगिता सञ्चालनका लागि बिर्तामोड वडा नं- १० को कार्यालयले सात लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने वडा खेलकुद विकास समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिए। बाँकी रकम विभिन्न सहयोगी दाता तथा सङ्घसंस्थाहरूबाट संकलन गरिनेछ।
स्थानीय तह र स्थानीय युथ क्लबबीचको सहकार्यले तल्लो तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न मद्दत पुग्ने सैनिक युथ क्लबका सचिव पृथ्वी बुढाथोकीले बताए। त्यस्तै प्रतियोगिताले यस क्षेत्रको खेलकुद प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमीहरूलाई उपस्थिति र सहयोगका लागि आग्रह गरेका छन्। कार्यक्रम नगर खेलकुद बिकास समितिका उपाध्यक्ष सन्ताेष गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।




















