धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो सेवाक्षेत्रभित्र रहेका सातवटा सामुदायिक विद्यालय र एक क्लवलाई डस्टबिन वितरण गरेको छ ।

विद्यालय परिसरलाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने उद्देश्यले समितिले धार्मिक मठमन्दिर, क्लब तथा विद्यालयमा गरी जम्मा २ सय वटा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेकाे समितिका अध्यक्ष धनकाजी खत्रीले बताए ।

उत्पादित फोहोरलाई उचित व्यवस्थापन गर्न तथा विद्यार्थीमा सरसफाइसम्बन्धी सकारात्मक बानीको विकास गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको समितिका सचिव उमेश सुवेदीले बताए ।

समितिले सेवाक्षेत्रभित्र रहेका धुलाबारी माध्यमिक विद्यालय, कविशिरोमणि माध्यमिक विद्यालय, हरि आधारभूत विद्यालय, भानु आधारभूत विद्यालय, महानन्द आधारभूत विद्यालय, डिगेन जनज्योति आधारभूत विद्यालय र शिशु साक्षर आधारभूत विद्यालय र रिदम नेपाल क्लव मेचीनगरलाई डस्टबिन वितरण गरेको उपाध्यक्ष हिमालय आङ्दाम्वेले जानकारी दिए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमले विद्यालयमा सरसफाइ कायम राख्न, जथाभावी फोहोर फाल्ने प्रवृत्ति न्यूनीकरण गर्न तथा विद्यार्थीलाई वातावरण संरक्षणप्रति जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास गरिएको कार्यालय प्रमुख गायत्री ढुङ्गानाले बताए ।

समितिले खानेपानी सेवा प्रवाहसँगै सामाजिक क्षेत्रमा समेत योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ । डस्विन खानेपानी समितिका अध्यक्षसहित पदाधिकारी तथा कर्मचारी सम्बन्धित विद्यालय तथा क्लवमै पुगेर हस्तान्तरण गरेका थिए ।