बिर्तामोड । दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय झापाले कानुनले निषेध गरेका प्लास्टिकजन्य फूल तथा गैरकानुनी रूपमा भित्र्याइएका विदेशी फूलको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

स्वदेशी पुष्प व्यवसायीलाई प्रोत्साहन गर्दै नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रशासनले सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो।

तिहार, नेपाल सम्वत् तथा छठलगायतका राष्ट्रिय पर्वमा सयपत्री, मखमली, गोदावरीलगायत विभिन्न प्रजातिका फूलको माग अत्यधिक हुने गर्दछ। धार्मिक तथा सांस्कृतिक प्रयोजनका साथै घर, कार्यालय र सार्वजनिक स्थलको शृंगार तथा सजावटमा समेत फूलको प्रयोग बढ्दै गएको छ।

झापामा परम्परागत रूपमा हुँदै आएको पुष्प खेती पछिल्लो समय व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ। यस्तो अवस्थामा स्वदेशी कृषक तथा पुष्प व्यवसायीको उत्पादनलाई प्राथमिकता दिनुपर्ने प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले स्वदेशी उद्यमशीलता र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै नेपाली उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर फूलको उपयोग गर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले झापामा उत्पादन हुने फूलको आपूर्ति, भण्डारण, बिक्रीवितरण तथा उपयोगलाई व्यवस्थित बनाउन आवश्यक सुझाव र सल्लाह दिनसमेत सबै पक्षलाई आग्रह गरेका छन्।