बिर्तामोड । झापाको भद्रपुरमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा कात्तिक १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
भद्रपुर–२ स्थित पुहाँतु जनज्योती माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा भारतका तीन, विभागीय तीन, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–एक तथा आयोजकको एक गरी १० टोली सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि खेलमैदान मर्मतसम्भार, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी, गेट तथा ब्यानर निर्माणलगायतका काम सम्पन्न भइसकेका छन्। दर्शकको सुविधाका लागि बाँसको प्यारापिटसमेत निर्माण गरिएको संघले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेता टोलीले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई शिल्ड र मेडलसमेत प्रदान गरिनेछ।
प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी आन्तरिक पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक गतिविधिसँग जोड्ने आयोजकको योजना छ। उद्घाटन समारोहमा राष्ट्रिय कलाकार डम्बर नेपालीको प्रस्तुति रहनेछ भने दोस्रो दिन अशोक दर्जी र समापन समारोहमा श्रीकृष्ण लुइँटेल (बोके दाह्री) ले सांगीतिक प्रस्तुति दिनेछन्। स्थानीय कलाकार तथा विद्यालयका विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न जातीय झाँकीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।
युवालाई बढ्दो लागुऔषध दुर्व्यसनबाट जोगाउँदै खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। प्रतियोगिताले हक्की खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा भद्रपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिता सफल बनाउन भद्रपुर नगरपालिका, कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्ड, झापा जिल्ला खेलकुद विकास समिति, पर्यटन कार्यालयलगायतका निकायले सहयोगको प्रतिबद्धता जनाएका छन्। आयोजकले प्रतियोगितालाई सफल बनाउन सञ्चारकर्मी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था तथा खेलप्रेमीलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।


















