अर्जुनधारा । झापाको अर्जुनधारामा कार्तिक १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ ।

मौसमी प्रतिकूलता तथा प्राविधिक कारणले स्थगित प्रतियोगिता अब आगामी मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को सहआयोजनामा हुने प्रतियोगिता अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा नगरका ११ वटै वडाका टोली सहभागी हुनेछन् ।

प्ररतियोगिताको विजेताले नगद ५१ हजार, उपविजेताले ३१ हजार र तृतीय हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई जनही एक हजार ५०० रुपैयाँ तथा विभिन्न व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।

नगरस्तरमा भलिबल खेलको विकास, स्थानीय खेलप्रतिभाको पहिचान र नगरको प्रतिनिधित्व गर्न सक्ने सक्षम टोली निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।