बिर्तामोड । प्रतिकूल मौसमका कारण झापाको भद्रपुरमा आयोजना हुने प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उद्घाटन समारोह एक दिन पछि सरेको छ ।

आज (कार्तिक १३ गते) हुने भनिएको प्रतियोगिताको उद्घाटन अब भोलि (कार्तिक १४ गते) बिहान १० बजे गरिने आयोजकले जनाएको छ ।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा भारतका तीन टोलीसहित नेपालका विभागीय, प्रदेश तथा आयोजक गरी १० टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।

भद्रपुर नगरपालिका–स्थित पुहाँतुबारीको जनज्योति माध्यमिक विद्यालय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताले नेपालमा हक्की खेलको विकास, विस्तार र अन्तर्राष्ट्रियस्तरमा खेलाडीको अनुभव आदानप्रदानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।