अर्जुनधारा । धार्मिक तथा जातीय सद्भाव कायम गर्दै सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित झापाको अर्जुनधारामा नयाँ धार्मिक तथा वातावरणीय योजना अघि बढाइएको छ। अर्जुनधारा जलेश्वर धाममा रहेको पाँचधाराको पानी करिब तीन किलोमिटर दक्षिणमा रहेको अर्जुनधारा कैलासघाटमा पुर्‍याउने योजना अघि सारिएको हो।

अर्जुनधारा कैलासघाट मोक्ष जल वातावरण व्यवस्थापन समिति, अर्जुनधारा जलेश्वर धाम र श्रम संस्कृति पार्टीको अगुवाइमा निर्माण हुने उक्त योजनाको लागत करिब १६ लाख रुपैयाँ अनुमान गरिएको छ।

योजनाको आगामी कात्तिक १७ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवाका अनुसार गत साउन २३ गते अर्जुनधारामा आयोजित पार्टीको जनसभाका क्रममा अध्यक्ष साम्पाङले यो योजना घोषणा गरेका थिए। सोही घोषणालाई कार्यान्वयन गर्ने उद्देश्यले अहिले निर्माणको तयारी अघि बढाइएको हो।

अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिका अध्यक्ष केशव भण्डारीले जातीय तथा धार्मिक रूपमा विभाजित समाजलाई एकताबद्ध गर्न यो योजना फलदायी हुने विश्वास व्यक्त गरे। उनले पुण्यकार्यमा सबै पक्षको सहयोग र सहभागिताका लागि आह्वानसमेत गरेका छन्।

कार्यक्रममा समितिका सहसंयोजक सुजन शिवाकोटीले योजनाबारे जानकारी दिँदै पानी कैलासघाटसम्म पुर्‍याउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

त्यस्तै, अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा समितिका सल्लाहकार संयोजक गोविन्द खतिवडाले यो योजना अर्जुनधाराका लागि गौरवको विषय भएको बताए। धार्मिक आस्था, सामाजिक सद्भाव र वातावरणीय व्यवस्थापनलाई जोड्ने यस योजनाले स्थानीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

अर्जुनधारा धामको पाँचधाराको पानी कैलासघाटसम्म पुर्‍याउने योजनाले धार्मिक तथा सांस्कृतिक महत्त्वका दुई स्थललाई जोड्नुका साथै सामाजिक एकता र सहकार्यको नयाँ सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।