बिर्तामोड । झापाको चारआलीमा कार्तिक २१ गते ख्यातिप्राप्त नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आयोजना हुने भएको छ । चारआली जेसीस र बज्र इभेन्टको संयुक्त आयोजनामा हातेमालो सामुदायिक वनको खेल मैदानमा कन्सर्ट हुन लागेको हो ।

चारआलीलाई संगीतसँग जोड्दै सांगीतिकमय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कन्सर्टमा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

चारआली जेसीसका अध्यक्ष सञ्जय निरौलाका अनुसार नेपथ्यजस्तो स्थापित ब्याण्डको कन्सर्ट चारआलीमा आयोजना हुनु यस क्षेत्रकै गौरवको विषय हो । उनले धरानदेखि श्रीअन्तुसम्म १५५ वटा बुलेट र्‍याली सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिँदै कार्यक्रमलाई भव्य बनाउन तयारी भइरहेको बताए ।

बज्र इभेन्टका सञ्चालक फुर्वा लामाका अनुसार कन्सर्टका लागि हालसम्म ४ हजार ७ सय टिकट बिक्री भइसकेका छन् । आयोजकले १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ । त्यस्तै, भारतबाट मात्रै ५ देखि ७ सय दर्शक आउने अनुमान गरिएको छ ।

कन्सर्टको अनुमानित बजेट करिब एक करोड रुपैयाँ रहेको लामाले बताए । उनका अनुसार टिकट नेपथ्य ब्याण्डले आफैँ उपलब्ध गराएको हो । आयोजकले टिकट छपाइ नगरी ब्याण्डबाटै प्राप्त टिकट बिक्री गरिरहेको छ ।

चारआली जेसीसका पूर्वअध्यक्ष उत्तम प्याकुरेलले चारआलीलाई सांगीतिक पहिचान दिलाउने र यस क्षेत्रलाई संगीतको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

नेपथ्यको लोकप्रिय संगीत र प्रस्तुतिले झापा तथा आसपासका क्षेत्रका संगीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने विश्वास आयोजकले लिएको छ । कन्सर्टले स्थानीय पर्यटन, व्यापार तथा सांस्कृतिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।