झापा । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको मिलेमतोमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई हानि नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको पूर्वनियोजित योजना र मिलेमतोमा संगठित सञ्जाल बनाई आर्थिक अनियमितता गरिएको आरोप छ ।
पक्राउ पर्नेहरूमा तत्कालीन महाप्रबन्धक सञ्जीव झा, विजयकुमार यादव, मनहरि शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विश्वबहादुर भण्डारी रहेका छन् ।
पक्राउ परेकामध्ये केही संस्थानका चिस्यान केन्द्र तथा दुग्ध कारखानामा कार्यरत कर्मचारी हुन् । उनीहरूलाई काठमाडौं, चितवन र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर २०८३ कात्तिक १३ गते उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा आर्थिक अनियमितताका थप पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ ।



















