बिर्तामोड । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत झापा जिल्ला अधिवेशन भोलि (कात्तिक १५ गते) हुने भएको छ ।

बिर्तामोडस्थित अग्रसेन भवनमा बिहान ११ बजेदेखि सुरु हुने जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस झापाले कात्तिक १४ गते प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशनको तयारी पूरा भएको जनाएको छ । पार्टी जिल्ला सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा गत भदौ २५ गते १५१ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरी अधिवेशन प्रक्रिया अघि बढाइएको थियो ।

अधिवेशनअन्तर्गत झापाका १३१ वटै वडा समिति तथा क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भइसकेको छ । त्यसैगरी १५ वटा पालिका, १० वटा प्रदेशसभा क्षेत्र र पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनसमेत सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन प्रक्रियाबाट झापामा ४ हजार ५८५ क्षेत्रीय प्रतिनिधि, १७५ महाधिवेशन प्रतिनिधि र २०० प्रदेश अधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

जिल्ला अधिवेशन प्रचारप्रसार समितिका संयोजक राजेन्द्र उप्रेतीले अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पत्रकार तथा सञ्चारकर्मीलाई निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन सहयोगको अपेक्षा गरेका छन् ।