झापा । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले बाह्रदशी गाउँपालिकाको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण समेट्ने उद्देश्यले ‘विकास–विचार प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताको मुख्य विषय ‘बाह्रदशी विकासका लागि ५ वर्षे दृष्टि’ तय गरिएको गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले जानकारी दिए।

पालिकाको आठौँ पूर्ण बैठकबाट पारित कार्ययोजनाअनुसार आयोजना गर्न लागिएको प्रतियोगितामा १३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थी सहभागी हुन पाउनेछन्। स्थानीयस्तरका वास्तविक समस्या पहिचान गर्दै तिनको व्यावहारिक समाधान र आगामी पाँच वर्षको विकासको खाका युवाहरूबाटै प्रस्तुत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सापकोटाले बताए।

प्रतियोगीहरूले कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी तथा उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा, युवा तथा खेलकुदलगायत १२ वटा क्षेत्रमध्ये कुनै एक वा सबै क्षेत्रलाई समेटेर आफ्नो अवधारणा प्रस्तुत गर्न सक्नेछन्। प्रस्तुतिमा समस्या, समाधानका उपाय र पाँच वर्षमा बाह्रदशीलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका समेट्नुपर्नेछ।

प्रतियोगितामा बाह्रदशी गाउँपालिकाको स्थायी ठेगाना भएका वा सोही क्षेत्रमा अध्ययन, पेसा तथा व्यवसाय गर्ने १३ देखि ४० वर्ष उमेर समूहका युवा सहभागी हुन पाउनेछन्। सरकारी तथा शिक्षण पेसामा रहेका व्यक्ति भने सहभागी हुन नपाउने आयोजकले जनाएको छ।

इच्छुक प्रतियोगीले बढीमा पाँच मिनेटको भिडियो प्रस्तुति तयार गरी २०८३ असोज २३ गते दिउँसो ४ बजेसम्म पठाउनुपर्नेछ।

प्राप्त भिडियोमध्ये आन्तरिक मूल्याङ्कनबाट छनोट भएका ४० उत्कृष्ट भिडियो असोज २५ गते घटस्थापनादेखि ‘नेकपा एमाले बाह्रदशी’को आधिकारिक फेसबुक पेजमार्फत क्रमशः सार्वजनिक गरिने जनाइएको छ। सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरसहित विज्ञहरूको मूल्याङ्कनका आधारमा प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ।

छनोट भएका प्रतियोगीलाई विशेष ओरिएन्टेशन क्याम्प तथा कार्यशाला तालिम प्रदान गरिनेछ। त्यसपछि मंसिरको पहिलो साता राजगढस्थित एभरेष्ट डिजिटल सिनेमा हलमा प्रतियोगिताको फाइनल राउन्ड आयोजना गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा थप सात जनालाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

युवाहरूको बौद्धिक पलायन रोक्दै स्थानीय नीति निर्माण र विकास योजनामा युवाको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एमाले बाह्रदशीले जनाएको छ।