बिर्तामोड । अनारमनी सोसियल युथ क्लबको आयोजनामा पाँचौँ संस्करणको ६ दशमलव ५ किलोमिटर रन प्रतियोगिता आगामी कार्तिक २१ गते हुने भएको छ। बिर्तामोडको मुक्तिचोकदेखि सैनिक बजारसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ५०० जना धावक सहभागी हुने आयोजकले जनाएको छ।
लैंगिक समानता र लागूऔषध दुर्व्यसन न्यूनीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राशि राखिएको छ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी भेट्रानतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी भेट्रानतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव तथा कार्यक्रम सञ्चालक रुपेश तिम्सिनाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। क्लबका उपाध्यक्ष प्रभाष थापा मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक सौरभ मुखियाले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी दिएका थिए।
आयोजक कमिटीका सञ्जय पौड्यालका अनुसार प्रतियोगिताका लागि हालसम्म ५०० जना धावकले नाम दर्ता गराइसकेका छन्। प्रतियोगिता सञ्चालन गर्न ५ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितामा सहभागी सबै धावकलाई टी-सर्ट, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै सामाजिक सचेतना अभिवृद्धि र युवालाई सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



















