बिर्तामोड । नेपाली कांग्रेस झापाको जिल्ला सभापतिमा कृष्ण हुमागाई निर्विरोध निर्वाचित भएका छन्। पार्टीको १५औँ नियमित महाधिवेशनअन्तर्गत बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट हुमागाई सभापतिमा चयन भएका हुन्।

यसअघि जिल्ला सचिव रहेका हुमागाईले पार्टीको जिल्ला अधिवेशन तयारी समिति तथा आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।

लामो समय पत्रकारिता र राजनीतिमा सक्रिय हुमागाई नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य हुन्। उनले रेडियो नेपाल, रासस, पूर्वाञ्चल दैनिकलगायत विभिन्न सञ्चारमाध्यममा संवाददातादेखि प्रधानसम्पादकसम्मको जिम्मेवारी निर्वाह गरेका छन्।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताएका हुमागाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा समेत सक्रिय थिए।