बिर्तामाेड । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठुलाे परिमाणमा पटाका झापामा बरामद गरिएको छ । झापा गाउँपालिका–२ कुवाडीबाट आज बिहान प्रहरीले दुई बोरा पटाका नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाको संयुक्त टोलीले बिहान नियमित गस्ती गर्ने क्रममा उक्त पटाका फेला पारेको जनाइएको छ ।
प्रहरीका अनुसार गस्ती टोलीलाई देखेपछि पटाका बोकेर आएका व्यक्ति बोरा छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले उक्त बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटाका रहेको खुलेको थियो ।
बरामद गरिएका पटाकाको मूल्य करिब एक लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।




















