अर्जुनधारा । झापाको अर्जुनधारामा आगामी मंसिर ९ गते महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। सन्तलाल वृजमोहन गट्टानी स्मृति प्रतिष्ठानको आयोजनामा २१ किलोमिटर दूरीको दौड प्रतियोगिता हुन लागेको हो।

IMG-20261106-WA0004

लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा अर्जुनधारा जलेश्वर धाममा आयोजना हुन लागेको ४४औँ अनुष्ठानको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका संयाेजक मिलन बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका खुला धावकले सहभागिता जनाउन सक्नेछन्। प्रतियाेगितामा महिला र पुरुषकाे समान पुरस्कार राशी राखिएकाे बस्नेतले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुनेले ७५ हजार १ रुपैयाँ र तेस्रो हुनेले ५१ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी चौथोदेखि दसौँ स्थानसम्म हासिल गर्ने प्रत्येक धावकलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी सबै धावकलाई प्रमाणपत्र र टी–सर्ट उपलब्ध गराइने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन ३०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।

अर्जुनधाराबाट सुरु हुने दौड खरबन्दी, बुद्धचोक, कालिस्थान, धाइजनचोक, बुधबारे, जयपुर, झम्केचोक र नारायणचोक हुँदै पिपलचोकमा पुगेर समापन हुनेछ। उनीहरुलाई जलेश्वर धाम परिसरमा एक समाराेहकाे आयाेजना गरेर पुस्कार प्रदान गरिने जनाइएकाे छ । 

खेलकुदमार्फत युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्दै लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अर्जुनधारा जलेश्वर धामको अनुष्ठानलाई व्यापक प्रचारप्रसार गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।