बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार आज बिहान बिहान ०७:५० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ५ सिर्जना चोकस्थित चिया बगानमा को-कसले बेवारिसे अवस्थामा अवैध गाँजा लुकाइछिपाइ राखेको छ भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा १३ वटा पोकामा रहेको गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा प्लास्टिकसहित जम्मा ५६२ के.जी. ८०० ग्राम रहेको छ भने प्लास्टिक बाहेकको तौल ५५७ के.जी. रहेको छ। बेवारिसे अवस्थामा फेला परेको उक्त गाँजा नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभएको छ।