अर्जुनधारा । झापाको अर्जुनधारा–७ स्थित धार्मिक तथा पर्यटकीयस्थल अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १४ गतेदेखि २१ गतेसम्म ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने भएको छ।
पूर्वको पशुपतिनाथका रूपमा परिचित जलेश्वरधाममा यस वर्ष श्रीमद्भागवत महापुराणसहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। धाम समितिका अध्यक्ष नविन गट्टानीका अनुसार मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरी अनुष्ठानको शुभारम्भ गरिनेछ।
अनुष्ठान अवधिभर प्रत्येक दिन बिहान ७ बजेदेखि मण्डप पूजा तथा पाठपारायण, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत महापुराणको कथा प्रवचन र साँझ ७:३० बजेदेखि ९ बजेसम्म महाआरती एवं भजनकीर्तन सञ्चालन हुनेछ।
भागवत कथावाचनका लागि भारतको मंगलधाम–सिक्किमका भागवत भास्कर गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराज आउने कार्यक्रम रहेको छ। सम्पूर्ण यज्ञ अनुष्ठानको प्रमुख आचार्यमा मूल अर्चक पण्डित अग्नि प्रसाद सिग्देल रहनेछन्। उपवाचकमा धामका ध्यान शिक्षक चिरञ्जीवी ढुङ्गाना रहेका छन् ।
मंसिर २० गते साँझ लक्ष्यवर्ती प्रज्वलन, भजनकीर्तन, झाँकी तथा रात्रि जागरण आयोजना हुनेछ। मंसिर २१ गते बिहान शतबीज रोपण, पूर्णाहुति, तिलकप्रसादी वितरण तथा समापन कार्यक्रम राखिएको छ।
अनुष्ठानलाई व्यवस्थित र सफल बनाउन धाम कार्यसमितिले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ। धार्मिक अनुष्ठानसँगै धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व प्रवर्द्धन गर्ने उद्देश्य आयोजकले लिएको छ।
अनुष्ठान सफल बनाउन प्रचारप्रसार, भोजन, आवास, सुरक्षा, यातायात, सरसफाइ, गुरुकुल, भण्डार, मन्दिर व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरिएको छ। समितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसमेत तोकिएको छ।
वि.सं. २०३९ देखि वार्षिक अनुष्ठान सञ्चालन हुँदै आएको जलेश्वरधाममा यस वर्ष ४४औँ संस्करण आयोजना हुन लागेको हो। मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सहभागी भई धार्मिक तथा आध्यात्मिक लाभ लिन आयोजकले भक्तजनलाई आग्रह गरेको छ।
अनुष्ठानबाट ५५ लाख २० हजार आम्दानी, ३९ लाख ३५ हजार रुपैंयाँ खर्च तथा १५ लाख ८५ हजार रुपैयाँ बचत हुने अपेक्षा आयाेजककाे रहेकाे छ ।




















