बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित ६.५ किलोमिटर दूरीको ‘बिर्तामोड रन’को पाँचौ संस्करण भव्य रूपमा सम्पन्न भएको छ। अनारमनी सामाजिक युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरका धावक-धाविकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतिस्पर्धात्मक बनेको खुल्ला पुरुषतर्फको ६.५ किलोमिटर दौडमा दार्चुलाका मुकेशबहादुर पाल प्रथम हुन सफल भएका छन्। उत्कृष्ट समयका साथ दौड पुरा गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन्। यसैगरी विक्रम लिम्बू दोस्रो र तीर्थ पुन तेस्रो स्थानमा रहे।
यस्तै खुल्ला महिलातर्फ प्रिया तामाङले प्रथम स्थान हासिल गर्दै उपाधि आफ्नो नाममा पारिन्। प्रतिस्पर्धामा राज्यलक्ष्मी रावल दोस्रो तथा मन्दिरा महतारा तेस्रो बन्न सफल भए।
खुल्लातर्फका विजेता धावक-धाविकाहरूले आकर्षक नगद पुरस्कार प्राप्त गरेका छन्। पहिलो स्थान हासिल गर्नेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्नेले १५ हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
उमेर समूहअन्तर्गतको भेट्रान महिलातर्फ जमुना लिम्बू प्रथम भइन्। कौशिला तामाङ दोस्रो र इन्दिरा केसी तेस्रो बन्न सफल भए। यसैगरी भेट्रान पुरुषतर्फको प्रतिस्पर्धामा रेशम लिम्बू प्रथम, रामकुमार विष्ट दोस्रो र अविनारायण अधिकारी तेस्रो स्थानमा रहे।
भेट्रानतर्फका दुवै समूहका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ। जसअनुसार प्रथम हुनेले नगद १० हजार रुपैयाँ, दोस्रो हुनेले ५ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गरेका छन्।
स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्लबले नियमित रूपमा बिर्तामोड रन आयोजना गर्दै आएको क्लबका अध्यक्ष राज मुखियाले जानकारी दिए। प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, सहभागी धावक तथा खेलप्रेमीहरूलाई आयोजकका तर्फबाट उनले धन्यवाद ज्ञापन गरेका छन्।




















