झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गा पुलनजिक ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–१ निवासी ६० वर्षीय गजेन्द्रबहादुर कार्की रहेका छन्। उनको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हिजो दिउँसो ४ः१५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ५५५० नम्बरको ट्रकले साइकलमा सवार कार्कीलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि ट्रक र चालक धादिङको थाक्रे गाउँपालिका–८ निवासी ३९ वर्षीय लक्ष्मण थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।