बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई आफ्नै घर निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘मेरो आफ्नै घर-कर्जा’ योजना ल्याएको छ।

संस्थाले नयाँ योजनाअन्तर्गत वार्षिक ५ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको हो। मंसिर १ गतेदेखि लागू हुने यस योजनामा दुई वर्षसम्म ब्याजदर स्थिर रहने संस्थाका निर्देशक दिनेशबहादुर निरौलाले जानकारी दिए।

संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले निर्वाचनपछि संस्थालाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए। निर्वाचनका क्रममा भएका सामान्य त्रुटिप्रति क्षमायाचना गर्दै उनले एकपटकको निर्वाचनले कसैको सम्भावना समाप्त नहुने उल्लेख गरे। आगामी दिनमा सबै सदस्यको साथ र सहयोग लिएर संस्थालाई अघि बढाउने उनको प्रतिबद्धता थियो।

गिरीले सहारा नेपाल पारदर्शी संस्थाका रूपमा स्थापित रहेको उल्लेख गर्दै संस्थाप्रति अनावश्यक शङ्का नगर्न आग्रह गरे। व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई प्राथमिकता दिने र संस्थाको खर्चमा सञ्चालक तथा कर्मचारीको टोलीले वैदेशिक भ्रमण नगर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

हाल करिब २० अर्ब रुपैयाँको कारोबार रहेको संस्थालाई आगामी चार वर्षभित्र ३० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको उनले बताए। आगामी निर्वाचनमा भौगोलिक अवस्थालाई ध्यान दिँदै सञ्चालक चयन गर्ने तथा समावेशितालाई पनि प्राथमिकता दिने योजना रहेको उनको भनाइ थियो।

संस्थाले आगामी दिनमा सहारा बिजनेस स्कुल स्थापना गर्ने, सदस्यलाई उद्यमशील बनाउन प्रभावकारी तालिम सञ्चालन गर्ने तथा ध्यान र मेडिटेसनका लागि दोमुखामा केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष छविलाल खतिवडाको नेतृत्वलाई पद हस्तान्तरण गरिएको थियो।