बिर्तामोड । झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भट्टराईको घरमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा सोमबार दिउँसो ४ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले खानतलासी गर्दा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले घटनास्थलबाट नगद १ लाख १८ हजार २०० रुपैयाँ, पाँच बुङ तास र नौ थान मोबाइल बरामद गरेको छ ।
पक्राउ पर्नेमा घरधनी गीता भट्टराईसहित १२ जना रहेका छन् । पक्राउ पर्ने अन्यमा अशोक पौडेल, अमर धिताल, देवेन्द्र कुइँकेल, सबिन भट्टराई, सहदेव धिमाल, बाबुराम राई, राज राजवंशी, दीपक धिमाल, अर्जुन थापा, दुर्गा प्रसाद अधिकारी र तिलकबहादुर कार्की रहेका छन् ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




















